बागमती प्रदेश स्पोर्ट्स अवार्ड: खोखोका बल र करातेकी एरिका वर्ष खेलाडी घोषित

5

मकवानपुर — बागमती प्रदेश सरकारले आयोजना गरेको पहिलो स्पोर्ट्स अवार्ड कार्यक्रममा खोखो खेलाडी राजन बल र करातेकी एरिका गुरुङलाई क्रमशः सर्वोत्कृष्ट पुरुष र सर्वोत्कृष्ट महिला वर्ष खेलाडीको रुपमा सम्मानित गरिएको छ।

हेटौंडा–४ स्थित हुप्रचौरमा आइतबार साँझ सम्पन्न समारोहमा युवा तथा खेलकुद मन्त्रालयले विभिन्न आठ विधामा १२ जनालाई अवार्ड प्रदान गरेको हो।

अवार्ड प्राप्त गर्ने खेलाडीहरू

  • लाइफ टाइम एचिभमेन्ट अवार्ड:

    • एथ्लेटिक्सका जीतबहादुर केसी

    • म्याराथन धावक बैकुण्ठ मानन्धर

  • उत्कृष्ट प्रशिक्षक:

    • पारा तेक्वान्दोका कविराज नेगी

  • उत्कृष्ट पत्रकार:

    • खेल पत्रकार श्याम चित्रकार

लोकप्रिय तथा विशेष विधाका विजेता

  • लोकप्रिय खेलाडी:

    • फुटबलका आयुष घलान

    • भलिबलकी सलिना श्रेष्ठ

    • एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ

  • बागमतीको शान:

    • तेक्वान्दोकी संगीता वैद्य

  • उत्कृष्ट पारा तेक्वान्दो खेलाडी:

    • पलेसा गोवर्द्धन

  • युवा खेलाडी:

    • गल्फ खेलाडी सद्भाव आचार्य

  • उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष:

    • ललितपुरका विनोद महर्जन

लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला/पुरुष खेलाडी, बागमतीको शान, र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. १ लाख, बाँकी अन्य विधाका विजेता र पत्रकारलाई जनही रु. ५० हजार नगद, अवार्ड ट्रफी र सम्मानपत्र प्रदान गरिएको थियो।

युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले स्पोर्ट्स अवार्ड कार्यक्रम प्रदेश सरकारको पहिलो पहल भएको बताए। उनले खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद क्षेत्रलाई सम्मान गर्ने उद्देश्यले अवार्ड सुरु गरिएको उल्लेख गरे।

मुख्यमन्त्री बहादुरसिंह लामाले पुरस्कार वितरण गर्दै भने, “खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेका खेलाडीको कदर र भावी पुस्तालाई हौसला दिन यो कार्यक्रम प्रभावकारी हुनेछ।” उनले यस्ता कार्यक्रमले खेलाडीको विदेश पलायन पनि रोक्ने विश्वास व्यक्त गरे।

अवार्ड छनोटका लागि अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको थियो। कार्यक्रम सांगीतिक प्रस्तुतिका साथ सम्पन्न भएको थियो।