काठमाडौं — कहिल्यै समृद्ध सभ्यता, शिल्पकला, व्यापार र सांस्कृतिक गौरवले भरिएको काठमाडौँ उपत्यकाको मूल वासिन्दा नेवाः समुदाय आज बिस्तारै आफ्नै भूमिबाट विस्थापित हुँदै गएको पीडादायी यथार्थको सामना गरिरहेको छ।
कुनै समय युरोपका विकसित समाजसँग तुलना गर्न सकिने हैसियतमा रहेको उपत्यकाको नेवाः समुदायको आर्थिक स्रोत, कला, संस्कृति र जीवनशैली आज विघटनको संघारमा पुगेको छ। विशेषतः राणा शासन, पृथ्वीनारायण शाहको उपत्यका आक्रमण, गुठी व्यवस्थामाथि भएको हस्तक्षेप तथा राज्यको विभिन्न नीतिहरूले नेवाः समुदायको सांस्कृतिक र आर्थिक जग नै कमजोर बनाइदिएको विश्लेषण गर्न सकिन्छ।
परम्परागत जात्रा, पर्व र धार्मिक–सांस्कृतिक कार्यहरू यस समुदायले आफैंको श्रम र जग्गाबाट हुने आम्दानीका भरमा चलाउने गर्थे। तर गुठी संस्थानको नाममा ती सम्पत्तिहरू सरकारको नियन्त्रणमा गएपछि अहिले जात्रा चलाउन चन्दा र अल्प सहयोगको भर पर्नुपर्ने बाध्यता देखिएको छ। लिंगो उभ्याउने जस्तो प्राचीन परम्परा अहिले ठेकेदार र मेसिनको सहायताले सम्पन्न गर्नुपरेको छ।
‘गुठी कब्जा’ को मारमा परम्परा
भैरव जात्रा, ब्रम्हायणी जात्रा, नीलबाराही नाचदेखि बिस्केट जात्रासम्म, सबै परम्परागत कार्यहरू गुठीको आम्दानीबाट चल्थे। तर आज ती गुठीका आयश्रोत खोसिएपछि परम्पराहरू संकटमा परेका छन्। राज्यले केही दोरी र थोपा सहयोग दिँदै सांस्कृतिक परम्परालाई कर्तव्य मुक्त रूपमा हेरेको आरोप स्थानीयको छ।
भूमि कब्जाको रणनीति र विस्थापनको पीडा
खोकना, चोभार, बुंगमती, सल्लाघारी, भृकुटी मण्डपजस्ता स्थानहरूमा स्मार्ट सिटी, सुख्खा बन्दरगाह, बाहिरी चक्रपथ, फास्ट ट्र्याकको नाममा स्थानीयको जमिन कब्जा गरेर नेवाः समुदायलाई जवरजस्ती विस्थापित गरिँदै आएको जनगुनासो छ। ऐतिहासिक तथ्यअनुसार भृकुटी मण्डपको जमिन कब्जा हुँदा आत्महत्या गरेका किसानका घटनाहरू राज्यद्वारा हुने हिंसात्मक विकास नीति विरुद्धको चेतावनी हो।
संस्कृति संरक्षणमा उदासीनता
नेवाः समुदायको संस्कृति केवल देखाउने होइन, जीउने परम्परा थियो। भजन, बली, धिमेबाजा, धल्चाजस्ता सम्पूर्ण अनुष्ठान खेतको आम्दानीबाट चल्ने गर्दथे। अहिले खेत नै कब्जा भएपछि संस्कृति ‘स्मृति’ मा सीमित हुँदै गएको छ।
सचेतना र आवाजको आवश्यकता
राज्यका नीति, योजना र परियोजनाले स्थानीयको अधिकारको संरक्षण नगरे, नेवाः समुदाय मात्रै होइन, नेपालकै मौलिक सांस्कृतिक विरासत संकटमा पर्न सक्छ। यही कारण आज नेवाः समुदाय मात्र होइन, सबै नागरिकले सतर्कता र सचेतना देखाउनु आवश्यक छ।