‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक

4

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’ को विमोचन गर्नुभएको छ। महाराजगञ्जस्थित निवासमा आयोजित एक विशेष समारोहबीच उक्त कृति सार्वजनिक गरिएको हो।

लेखक श्रेष्ठले विभिन्न स्थानहरूको भ्रमणका क्रममा देखेका, भोगेका तथा अनुभूत गरेका अनुभवहरूलाई नियात्राको रूपमा प्रस्तुत गरेका छन्। ‘यात्राको तस्बिर’ मा १७ शीर्षकका नियात्राहरू समावेश छन्। यो कृति श्रेष्ठको २७ औं प्रकाशित कृति हो।

यसअघि वि.सं. २०७० मा उनको पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक’ नुवाकोट साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको थियो।

वि.सं. २०३१ सालमा नुवाकोटको विदुरमा जन्मिएका श्रेष्ठको हालसम्म नियात्रा, जीवनी, कविता, समीक्षा, अनुसन्धानात्मक र अनूदित साहित्यका थुप्रै कृति प्रकाशित छन्। विशेषगरी जापानी साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यको सिजो विधामा आधारित कृतिहरू प्रकाशित गर्दै आएका श्रेष्ठ बहुप्रविधात्मक साहित्यकारका रूपमा परिचित छन्।