सर्लाहीको हरिवन नगरपालिकाद्वारा कोदो र कुर्थी उत्पादन गर्ने किसानलाई अनुदान

7

सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाले लोपोन्मुख तथा रैथाने बाली संरक्षण, संवर्धन र उपयोगका लागि कोदो र कुर्थी (गहत) उत्पादन गर्ने किसानहरूलाई पहिलोपटक अनुदान प्रदान गरेको छ।

नगरपालिकाको कृषि शाखाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार कोदो, आलस, कुर्थी र फापर जस्ता रैथाने बाली खेती गर्ने किसानलाई अनुदान दिन थालिएको हो। यस वर्ष उत्पादन विवरणसहित नगरपालिकामा निवेदन दिएका ३८ जना किसानले ८६.६७ क्विन्टल कोदो र १२.५ क्विन्टल कुर्थी उत्पादन गरेका थिए, जसको आधारमा अनुदान रकम वितरण गरिएको कृषि शाखा प्रमुख प्रविन तामाङले जानकारी दिनुभयो।

कार्यविधिअनुसार कोदो उत्पादन गर्ने किसानलाई प्रति क्विन्टल रु. २,००० र कुर्थी उत्पादन गर्ने किसानलाई प्रति क्विन्टल रु. २,५०० अनुदान दिइएको हो। अनुदान रकम नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रमेश बुुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालले किसानहरूलाई हस्तान्तरण गर्नुभएको थियो।

कृषि शाखाका अनुसार केही किसानहरूले आलस र फापर खेती गरे तापनि कार्यविधिमा उल्लेखित मापदण्ड नपुगेकाले यसपटक अनुदानबाट वञ्चित भएका छन्। नगरपालिकाले आगामी वर्षहरूमा अन्य बालीलाई समेत समेट्दै कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको जनाएको छ।

नगर प्रमुख बुुढाथोकीले रैथाने बालीको उत्पादन वृद्धि र संरक्षणका लागि अनुदान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उपप्रमुख घलानले भने आगामी वर्षदेखि जुनेलो खेती गर्ने किसानलाई समेत अनुदान दिने तयारी भइरहेको जानकारी दिनुभयो।

हरिवन नगरपालिकाको कृषि शाखाले किसानलाई रैथाने बालीमा अनुदान लिन आवश्यक प्रक्रिया र मापदण्डबारे जानकारी लिन कार्यालयको सम्पर्कमा आउन आग्रह गरेको छ।