रामेछाप – रामेछाप जिल्लाको सबैभन्दा ठूलो हिमाली गाउँपालिका उमाकुण्डमा सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सम्पन्न भए पनि दुई महिनासम्म हस्तान्तरण हुन नसक्दा सेवा प्रवाह अझै अस्थायी भवनबाटै भइरहेको छ।
तीन वर्षअघि सुरु गरिएको निर्माण कार्य यस वर्ष चैत महिनाको पहिलो साता सम्पन्न भए पनि अझैसम्म गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन। भवन हस्तान्तरण नहुँदा पालिकाको प्रशासनिक कामकाज पुरानै प्रिप्याफ भवनबाट सञ्चालन हुँदै आएको छ।
पूर्वाधार विकास कार्यालय रामेछापको ६० प्रतिशत र उमाकुण्ड गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माण सुरु गरिएको उक्त भवनको निर्माण कार्य २०७८ चैत ७ गते सम्झौता भई गौरा बंगलामुखी जेभी नामक निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो। सम्झौता अनुसार २०८१ चैत पहिलो साता सम्ममा निर्माण सकिने तय भएको थियो, जुन समयमै सम्पन्न भएको निर्माण कम्पनीको दाबी छ।
तर, निर्माण कम्पनीका प्रतिनिधि प्रदीप बस्नेतका अनुसार अझै एक करोड ४२ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी बाँकी रहेकाले भवन हस्तान्तरण गर्न नसकिएको हो।
उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भए पनि बाँकी भुक्तानी नहुँदासम्म हामी भवन हस्तान्तरण गर्न सक्दैनौं। सम्झौता अनुसार आठ करोड २६ लाख ६८ हजार रुपैयाँको लागत अनुमान गरिएको थियो, तर निर्माण सम्पन्न हुँदा लागत बढेर नौ करोड १७ लाख ८२ हजार रुपैयाँ पुगेको छ। अझै एक करोड ४२ लाख २९ हजार रुपैयाँ भुक्तानी पाउन बाँकी छ।”
स्थानीयबासी र जनप्रतिनिधिहरूले समयमै निर्माण सम्पन्न भए पनि अनावश्यक ढिलाइले सेवा प्रवाहमा असर परेको भन्दै चासो व्यक्त गरेका छन्। गाउँपालिकाले चाँडो भवन हस्तान्तरण गरी सेवा प्रवाह नयाँ भवनबाट सञ्चालन हुने अपेक्षा गरिएको छ।