भक्तपुरमा ‘खतराका खेलाडी’: प्रहरीदेखि प्रशासनसम्म सेटिङ मिलाएर मिनी क्यासिनो सञ्चालन

218

भक्तपुर – एकातर्फ प्रहरीले जुवा नियन्त्रणको नाममा साना खाल ध्वस्त पार्ने अभियान चलाइरहेको छ भने अर्कोतर्फ भक्तपुरको मध्यपुर थिमी क्षेत्रमा खुलेआम मिनी क्यासिनो शैलीमा ठूला जुवा खाल सञ्चालन भइरहेका छन्। आश्चर्यजनक कुरा त के छ भने, यी खालहरू प्रहरी र प्रशासनकै संरक्षणमा सञ्चालित हुने तथ्य उजागर भएको छ।

मध्यपुर थिमीका अंकित श्रेष्ठ नामक व्यक्तिले आफ्नो घर, पानी ट्याङ्की क्षेत्र, निलबाराही भक्तपुरको राधेराधे एरिया र सरस्वती खेल आसपासका स्थानहरूमा जुवा खाल सञ्चालन गर्दै आएको स्रोतको दाबी छ। प्रहरीका घुमुवा देखि उच्च ओहदाका अधिकृतहरूसम्मको सेटिङमार्फत श्रेष्ठले खुला रूपमा खाल सञ्चालन गर्दै आइरहेका छन्।

गत साता मात्रै प्रहरीले भक्तपुरका विभिन्न साना खालहरूमा छापा मार्दै ३० भन्दा बढी व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको थियो। तर, करोडौँको कारोबार हुने अंकित श्रेष्ठको खालमा भने कुनै कारवाही नहुनु प्रशासनको मिलेमतोतर्फ संकेत गर्छ।

“सानो खाल ध्वस्त पारेर देखाउने, ठूला खाल चलाउनेहरूलाई संरक्षण दिने परिपाटी नै बनेको छ,” एक पटक जुवा मुद्दामा पक्राउ परेका व्यक्तिले बताए। “५ रुपैयाँ प्वाइन्ट म्यारिज खेल्ने र रिटायर्ड व्यक्तिहरू समातिन्छन्, तर करोडको कारोवार गर्नेहरूलाई त केही नहुने?”

सूचना अनुसार, यस्ता ठूला खालहरूमा कार्ड पत्ती खेल्ने देखि कौडा हान्ने जस्ता गतिविधिहरू भइरहेका छन्, जसमा एकै दिनमा करोड रुपैयाँसम्मको कारोबार हुने गरेको छ। तर, सुरक्षा निकायहरू भने मौन देखिन्छन्।

स्थानीयबासी र सरोकारवाला निकायहरूले यस विषयमा गम्भीर ध्यान दिनु आवश्यक भएको विश्लेषकहरूको भनाइ छ। यदि प्रशासन आफैँ मिलेमतोमा संलग्न छ भने, कानुनको शासन र सार्वजनिक सुरक्षा दुवै धरापमा पर्ने खतरा रहन्छ।