भक्तपुर । मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले “मध्यपुर थिमि नगर क्षेत्रको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०८१” प्रदान गरेको छ।
संघको हालै सम्पन्न साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रकाश ढकालले बालकुमारीका अध्यक्ष तुईलाल श्रेष्ठलाई उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
विसं २०५७ साल असोज २ गते स्थापित बालकुमारी सहकारी यसअघि पनि विभिन्न तहमा सम्मानित भइसकेको छ। संस्थाले डिभिजन सहकारी कार्यालय भक्तपुरबाट जिल्लाको उत्कृष्ट सहकारी, तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट उपत्यकाको उत्कृष्ट सहकारी पुरस्कार प्राप्त गरिसकेको छ।
संस्थाका सचिव पृथ्वीराम श्रेष्ठका अनुसार, सदस्यको आर्थिक जीवनस्तर उकास्न तथा सामाजिक उत्तरदायित्व अन्तर्गत उल्लेखनीय कार्य गर्दै आएको बालकुमारी सहकारीले विभिन्न संघसंस्थाबाट प्रशंसा तथा पुरस्कार प्राप्त गर्दै आएको छ।
स्थानीय २८ जना व्यक्तिहरूले ७ लाख रुपैयाँ शेयर पूँजीसहित स्थापना गरेको यस सहकारीको कारोबार सन् २०८२ वैशाख १९ सम्ममा २ अर्ब १७ करोड ९३ लाख १४ हजार ४८९ रुपैयाँ पुगेको छ। हालसम्म संस्थामा ५ हजार ९१५ जना शेयर सदस्य आवद्ध छन्।
सदस्यमैत्री सहकारीका रूपमा परिचित बालकुमारीले समयानुकूल ब्याजदर समायोजन गर्दै सदस्य समृद्धि कर्जा ८ प्रतिशत, सुविधा कर्जा ८.५ प्रतिशत (शर्त लागू हुने), तथा बालकुमारी सुनौलो कर्जा ९.५ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।