जंगल मासेर हाउजिङ: काक्राबारीका जनताको आवाज—”ठूलालाई छुट, सानोलाई कानुन?”

37

भक्तपुर, काक्राबारी –
“ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने?”—भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काक्राबारीका स्थानीयवासीले यिनै शब्दमा आफ्नो आक्रोश पोखेका छन्। सैयौं रुख काटिँदा, दर्जनौं डोजरले जंगल खन्दा, खोल्साखोल्सी पुरिँदा पनि सम्बन्धित निकाय मौन बसिरहेकोमा उनीहरूले कडा विरोध जनाएका छन्।

स्थानीयको आरोप छ—निक भुजिकिक हाउजिङ कम्पनीले सञ्चालन गरिरहेको आवासीय परियोजनाअन्तर्गत घिसिङ डाँडास्थित सामुदायिक वन क्षेत्रमा अवैध रूपमा प्लटिङ कार्य भइरहेको छ। तीन दर्जनभन्दा बढी डोजरहरू महिनौँदेखि दिनरात खनजोत गरिरहे पनि वडाअध्यक्षदेखि नगरपालिका र वन कार्यालयसम्म कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ।

खानेपानीको मूल सुक्यो, घाँस–दाउरा ल्याउने बाटो अवरुद्ध

स्थानियहरूको अनुसार, हाउजिङ कम्पनीको डोजरले वन क्षेत्र भित्र पसेर खोल्साखोल्सी पुरेको, खानेपानीको मूल मासिएको र पाइपलाइन क्षतिग्रस्त पारिएको छ। “पानी, पर्धेर, बाटो सबै बन्द गरियो। हामी अहिले बिनापानी बसिरहेका छौं,” एक स्थानीय बासिन्दा भन्छन्।

जंगलबाट घाँस, दाउरा ल्याउने बाटोसमेत डोजरले अवरुद्ध बनाएको र जैविक विविधता तथा पर्यावरणमा गम्भीर असर परेको जनाइएको छ।

परियोजनाको असरले जोखिममा लामाटोल

परियोजनाको काम ‘घिसिङ टोल’ मा भए पनि त्यसको प्रत्यक्ष असर लामाटोलमा परेको छ। पहाड काटिँदा थुप्रिएको माटोले बर्खामा बाढी–पहिरोको जोखिम बढेको स्थानीयको भनाइ छ। “बाढीले घरबारी बगाउने स्थिति आएको छ,” उनीहरू भन्छन्।

स्थानीयको सहमति विना जग्गा खनियो, बसोबास विस्थापित

हाउजिङ कम्पनीले जनताको सहमति विना निजी जग्गामा डोजर चलाएको, केही परिवारलाई बसोबासकै ठाउँबाट विस्थापित हुन बाध्य पारेको पनि स्थानीयको आरोप छ।

जसको नाममा विकास, तिनै बन विनाशका कारक?

हाउजिङ कम्पनीसँग सम्बन्धित डिल्ली बराइली, प्रविण कुस्मा, सुधीरकुमार अधिकारी र शंकर तामाङ नामक व्यक्तिहरूको प्रत्यक्ष संलग्नतामा वन अतिक्रमण भइरहेको भन्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, सूर्यविनायक नगरपालिका र वडा कार्यालयमा ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म कुनै ठोस प्रतिक्रिया नआएको स्थानीयको गुनासो छ।

संघर्ष समिति गठन, आन्दोलनको तयारी

सरोकारवालाको बेवास्ता देखेपछि स्थानीय बासिन्दाले संघर्ष समिति गठन गरेका छन्। समितिको अध्यक्षमा प्रेमबहादुर तामाङ, उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ डोङ रहेका छन्। उनीहरूले अविलम्ब काम रोक्न चेतावनी दिएका छन् र अबको कदम आन्दोलन नै हुने बताएका छन्।

‘घटनास्थल’ – हरियो वन, गहुँगोरो संकट

यो क्षेत्र साविक नंखेल गाविस वडा नं. ४ क र ख मा पर्ने काँक्रा बन, जुन हाल सूर्यविनायक–९ मा पर्दछ। अरनिको राजमार्गको साँगाबाट करिब १०–१२ किलोमिटर माथिको पहाडी क्षेत्रसम्म फैलिएको यो वनक्षेत्र केही फाटफुट घर र मुख्यतया तामाङ समुदायको वस्तीले भरिएको छ। यहाँको पूरै भूगोलमा अवैध निर्माणले गम्भीर संकट निम्त्याइरहेको स्थानीय बताउँछन्।


कानुन सबैका लागि बराबर हुनुपर्छ भन्ने सिद्धान्त जब शक्तिशालीका लागि मात्रै ढिलो–चाँडो लाग्छ, त्यतिबेला अन्यायको बीज रोपिन्छ। काक्राबारीको जंगलमा जति छिटो डोजर चलेको छ, कानुनी कारबाही पनि त्यति छिटो चल्नुपर्ने हो। अब निर्णय जिम्मेवार निकायको हातमा छ—जनताको आवाज सुन्ने कि बेवास्ता गरेर आन्दोलन चर्किने बाटो खोल्ने?