भक्तपुर — “ठूलोले जे गरे पनि हुन्छ, सानोलाई मात्रै कानुन लाग्छ” — यस्तै आक्रोश पोखेका छन् भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित काँक्राबारीका स्थानीय बासिन्दाहरू। यहाँ झण्डै तीन दर्जन डोजर प्रयोग गरी सामुदायिक वन क्षेत्र मासेर हाउजिङ निर्माण भइरहेको छ, तर सम्बन्धित निकाय भने मौन छन्।
साविक नंखेल गाविस वडा नं. ४ (क र ख) अन्तर्गत पर्ने काँक्रा बनस्थित घिसिङ डाँडामा निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गर्दै आएको छ। कम्पनीले स्थानीय सहमति विना डोजर र स्काईभेटर चलाउँदै दिनरात सामुदायिक वन क्षेत्र, खोल्साखोल्सी, बाटो, खानेपानीका स्रोत र पाइपलाइन भत्काएको आरोप स्थानीयले लगाएका छन्।
स्थानीय जनताको आवाज: डोजर र सरकार मिलेर वन र बस्ती उजाड्दै
स्थानीय बासिन्दाहरूका अनुसार निर्माण कार्यका कारण परम्परागत खोल्साखोल्सी पूरिएका छन्, पानीको निकास अवरुद्ध भएको छ, र वर्षामा बाढी आउने जोखिम बढेको छ। आयोजनाका कारण घिसिङ टोलभन्दा तलको लामाटोल अति जोखिममा परेको छ। खानेपानीको मूल, बाटो र जंगलबाट घासपात ल्याउने मार्ग समेत अवरुद्ध भएको जनाइएको छ।
“डोजर चलाउँदा पाइप फुटाउँछन्, मूल पुर्ने काम गर्छन्। हामी पानी खानै पाएका छैनौं,” स्थानीयले गुनासो गरे। “वडा अध्यक्ष र नगरपालिकाले सियो खस्दा हेर्छन्, तर तीन दर्जन डोजर हेर्न सक्दैनन्?”
वन, पर्यावरण र जीवनमा खतराः डिल्ली बराइली समूहविरुद्ध कारबाही माग
स्थानीयका अनुसार परियोजनामा संलग्न डिल्ली बराइली, प्रविण कुस्मा, सुधीरकुमार अधिकारी र शंकर तामाङ जस्ता व्यक्तिहरूले सरकारी र सामुदायिक वन अतिक्रमण गर्न अवैध रूपमै सहमति दिएको जनाइएको छ। उनीहरूविरुद्ध कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय, जिल्ला वन कार्यालय, सूर्यविनायक नगरपालिका र वडा कार्यालयलाई ज्ञापनपत्र बुझाइसकेका छन्। तर अहिलेसम्म कुनै ठोस कदम नचालिएको भन्दै उनीहरूले मिडियाबाट न्यायको अपिल गरेका छन्।
संघर्ष समितिको गठन, आन्दोलनको तयारी
स्थानीय समुदायले मुद्दालाई संगठित रूपमा अगाडि बढाउन संघर्ष समिति गठन गरेका छन्। समितिको अध्यक्षमा प्रेमबहादुर तामाङ, उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ र अन्य सदस्यमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ र सानो तामाङ छन्।
स्थानीयले चेतावनी दिएका छन्—“यदि राज्य र प्रशासन मौन बसिरह्यो भने हामी आफैं आन्दोलनमा जान बाध्य हुने छौं।”
जंगल बेचेर विकास?
काँक्राबारी क्षेत्र भक्तपुरको साँगा झोलुंगे पुलबाट करिब १०–१२ किलोमिटर माथि पर्छ, जहाँ घना बन क्षेत्र र छरिएर रहेका तामाङ बस्तीहरू छन्। यस्तो जैविक र पर्यावरणीय संवेदनशील क्षेत्रमा कानुन विपरीत डोजर चलाएर हाउजिङ आयोजना गर्नु आफैंमा गम्भीर प्रश्न उठाउने विषय हो। तर जब सत्तासीन शक्ति र पैसावाला चलखेलमा आउँछन्, कानुन किन मौन बस्छ?
पर्यावरणीय विनाश, जनताको उपेक्षा, र सत्ताको निरपेक्षता—यी तीनवटै पक्ष मिल्दा राज्यविहीनताको अवस्था सिर्जना हुन्छ। काँक्राबारीको यो मुद्दा केवल स्थानीयको मात्रै होइन, सम्पूर्ण देशको ‘विकास बनाम विनाश’ को गम्भीर विमर्श हो।