देवी माध्यमिक विद्यालयकाे ५६ औं वार्षिकोत्सव सम्पन्न

3

हरिसुन्दर छुकां

भक्तपुर । भक्तपुरको उत्कृष्ट शैक्षिक केन्द्रकाे रूपमा रहेको देवी माध्यमिक विद्यालयकाे ५६ औं वार्षिकोत्सव सम्पन्न भएकाे छ । वि. सं. २०२५ सालमा स्थापना भएकाे उक्त विद्यालयकाे ५६ औं वार्षिकोत्सव बुधबार विद्यालय प्राङ्गणमा भएको हाे । साे वार्षिकोत्सबकाे उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें( राेहित) ले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेंले शिक्षा सुधारका लागि शिक्षककाे भूमिका महत्वपुर्ण हुने बताए । उनले शिक्षाका लागि आवश्यक भवन तथा भाैतिक पूर्वाधारमात्र गतिलाे नभएर अध्यापन गराउने शिक्षकहरू पनि गतिला हुनुपर्ने जनाए । कार्यक्रममा उनले विद्यालयकाे सरसफाइमा विशेष ध्यान दिनका लागि विद्यालयकाे ध्यानाकर्षण गराएका थिए ।

उनले ताथलीमा आउँदा स्व. जयराम बासुकलाकाे याेगदानकाे स्मरण समेत गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले शैक्षिकस्तर उकास्न विद्यालयले अभिभावकहरूसँग छलफल र अन्तरक्रिया गर्न सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष बिजुक्छेंले विद्यालयमा दीर्घ सेवा गरेका शिक्षक, एसईई उत्तीर्ण विद्यार्थी, विव्यस पदाधिकारीहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू तथा विद्यालय परिवारलाई कदर पत्रका साथ सम्मान गरेका थिए ।

साेही अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ९ का अध्यक्ष गणेश त्यातले शिक्षाकाे गुणस्तरका लागि देवी मावि उत्कृष्ट र नमूना विद्यालय रहेकाे उल्लेख गर्दै शैक्षिक पद्धति समान हुनुपर्नेमा जाेड दिए । विद्यालयलाई सफल बनाउन शिक्षक, विव्यस, अभिभावक , विद्यार्थी र स्थानीय सबैकाे भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै शिक्षाको जग बलियो बनाउन सब‌ पक्ष लाग्नुपर्ने बताए ।

विद्यालयका शैक्षिक समस्या समाधान गर्न र शैक्षिक गुणस्तरका लागि विभिन्न सल्लाह, सुझाव दिएका वडा अध्यक्ष गणेश त्यातले राज्यको गलत नीतिकाे असरमा सामुदायिक विद्यालय परेकाे जनाए ।
वडा सदस्य कमला गिरीले शिक्षाप्रेमी, राजनीतिक दल, समाजसेवी, स्थानीय सबैकाे साथले विद्यालय उत्कृष्ट भएको बताइन् ।

संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष राेशनराज तुईतुईले परीक्षा समितिकाे सक्रिय विद्यालयकाे रूपमा रहेकाे देवी मावि शैक्षिक उत्कृष्ट विद्यालय रहेकाे बताए । उनले समितिले शिक्षा सुधारका लागि समितिले विभिन्न शैक्षिक क्रियाकलापका साथै विद्यार्थी र शिक्षककाे सम्मान गर्दै आइरहेको चर्चा गरे । उनले शिक्षककाे क्षमता अभिवृद्धिका लागि समितिले याेजना निर्माण गरेकाे उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजूले विद्यालयकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका समस्या र चुनाैतीलाई सामना गर्नका लागि विद्यालयले बनाएकाे भावी नीत तथा कार्यक्रम पेश गरे ।

वार्षिकोत्सबमा विद्यालयका पूर्व प्रधानाध्यापक राजाराम छुकांले विद्यालयलाई राम्रो बनाउनका लागि शिक्षक, विव्यस, अभिभावकले निर्वाह गर्नुपर्ने दायित्वबारे चर्चा गरे ।
देवी बासुरी बाजा समूहको बाँसुरीको धुनसँगै दीप प्रज्वलन गरि गरिएको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक.राजेन्द्रकुमार साखकर्मीले स्वागत गरेका थिए भने विद्यार्थीहरूकाे तर्फबाट कक्षा ९ कि मुनवी बस्नेत र कक्षा १० का रोजित दुलालले मन्तव्य दिएका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णराम बासुकलाकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयद्वारा प्रकाशित बुलेटिन पनि विमाेचन गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।