रुपन्देहीका सिडिओ र दुबै एसपीको अकस्मात सरुवा, सशस्त्रका यी एसपीको पाप धुरीबाट करायो

काठमाडौं । गत २१ फागुनमा बुटवलको रानीगन्जमा मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनालाई लिएर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकको एकसाथ सरुवा गरिएको छ ।

सो घटनाबारे पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै उनीहरु तीनै जनालाई जिम्मेवारीबाट हटाइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी उपरीक्षक प्रवीण पोखरेल र सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँलाई जिम्मेवारीबाट हटाएको हो ।

गृह मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई रुपन्देही पठाएको छ । यसैगरी, प्रहरी उपरीक्षक पोखरेलको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत मनोज केसी पठाइएका छन् । यसैगरी सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीलाई पठाइएको छ । उप्रेती यसअघि १ नम्बर बाहिनीमा कार्यरत थिए ।

प्रमुख जिल्ला अधिकारी घिमिरे र एसपी पोखरेल त्यहाँ गएको आठ महिनामात्रै भएपनि सशस्त्रका एसपी खनियाँ गएको भने दुई महिना मात्रै भएको थियो । उनी डोटीको गणपति हुँदाहुँदै शक्तिकेन्द्रको आडमा रुपन्देही पुगेका थिए ।

गज्जव त के छ भने सशस्त्रका रुपन्देहीका एसपी तेज पोखरेलको एक बर्से कार्यकाल सकिएपछि सो ठाउँमा सशस्त्र मुख्यालयले एसपी शंकर खनाललाई त्यहाँ काज सरुवा गरेको थियो । काज सरुवा निस्केलगत्तै खनाल काठमाडौंमै एउटा तालिममा अड्किए । उनी त्यहाँ जान नपाउँदै एसपी खनियाँले चलखेल गरे । खनाल जान पाएनन् ।

एउटा गणको नेतृत्व गर्दागर्दै अर्काे गणमा जान खोज्ने एसपी खनियाँको कार्यलाई धेरैले मन पराएनन् । सशस्त्र नेतृत्वले पनि उनलाई त्यहाँ जानबाट रोक्न सकेन ।

पाप धुरीबाट कराउँछ भनेजस्तै एसपी खनियाँ रुपन्देहीमा धेरै दिन टिक्न सकेनन् । अन्ततः शान्ति सुरक्षा दिन नसकेको जस्तो कालो धब्बा लिएर उनी बहिर्गमन हुन पुगे ।