महाँकाल गाउँपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण

ललितपुर .(गोटीखेल) । महाङ्काल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको ६ वटै वडाहरुमा अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिलाई अपाङ्गता पचियपत्र वितरण कार्य सुरू गरेको छ । माघ १६गतेदेखि बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठुलादुर्लुङमा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण सुरू गरेको महाँकाल गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्र भौगोलिक विकटता भएकाले सबै वडाहरुमा घरदैलो कार्यक्रम राखी परिचय पत्र वितरण गर्ने योजना अनुसार माघ १६ गते वडा नं. ३ को गोटीखेल र वडा नं. ४ को कालेश्वरको नागरिकलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो ।
माघ १८ गते वडा नं. २ को मानिखेलका नागरिकलाई परिचयपत्र वितरण गरिएको छ त्यस्तै १९ गते वडा नं. ६ का अपाङ्गता भएका नागरिकलाई परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भिन्न क्षमता भएका नागरिकलाई गाउँपालिकाबाट पहिलो चोटी परिचयपत्र वितरण कार्य सुरू गरिएको हो ।
अपाङ्ता परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७६ बमोजिम वितरण गरिने यस अभियानमा कार्यविधी अनुसार समन्वय समितिको व्यवस्था गरिएको छ । समन्वय समितिको संयोजकमा गाउँपालिकाको उपाध्यक्ष कमला लामा (तामाङ) रहनु भएको छ भने समितिमा कार्यपालिका सदस्य सीता घिमिरे, अपाङ्ग क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था शुन्दरढोका साथी सेवाका प्रतिनिधि गोटीखेल स्थित इलाका प्रशासन कार्यालयका प्रतिनिधि तथा सचिव सामाजिक शाखाका प्रमुख सरिता रिजाल रहनु भएको छ भने र चिकित्सकमा मानिखेल अस्पतालका डा. सरोज घिमिरेको सहभागिता रहेको महाँकाल गाउँपालिकाले जनाएको छ ।
हालसम्म वडा नं. २, ३ र ४ मा समेत गरी १३ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
कार्यविधिमा तोकिए बमोजिम चिकित्सक परिक्षणबाट एकिन भएका अपाङ्गहरु क वर्गका रातो कार्ड पाउने एक जना ख वर्गका निलो कार्ड पाउने २ जना ग वर्गको पहेलो कार्ड प्राप्त गर्ने ४ जना घ वर्गको सामान्य सेतो कार्ड प्राप्त गर्ने ६ जना रहेका छन् ।
क र ख वर्गको कार्ड पाउनेहरुले राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् भने ग र घ वर्गको कार्ड प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिहरुले यातायात तथा स्वास्थ्य परिक्षण जस्ता क्षेत्रमा छुट सुविधा पाउने गरेका छन् ।