चिसो बढेपछि नेपालगन्जका विद्यालय बन्द

नेपालगन्ज — चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय तीन दिनका  लागि बन्द गर्ने निर्णय गरेको छ । केही दिन यता चिसो अत्यधिक बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले नगरमा रहेका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरेको हो  ।

सोमबारदेखि तीन दिनका लागि सामुदायीक तथा निजी र धार्मिक विद्यालय बन्द गरिएको नेपालगन्ज उपमहानगरपालीका शिक्षा शाखा प्रमुख गोरख थापाले बताए ।

‘घाम लागेको खण्डमा २२ गतेबाट विद्यालय सञ्चालन गर्ने तर प्रतिकूल मौसम रहेमा माघ २३ गते शुक्रबारसम्म विद्यालयहरु बिदा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ,’ उनले भने । उपमहानगरभित्र सामुदायिकतर्फ ४३ र निजीतर्फ ८१ वटा विद्यालय छन् ।

बिहानैदेखि दिउँसोसम्म हुस्सु लाग्दा बालबालिकालाई विद्यालय आउनजान असहज हुने तथा स्कुलका गाडीसमेत सञ्चालन गर्न असहज भएको नगरस्तरीय प्याब्सनका अध्यक्ष विकास बज्रचाार्यले बताए ।

जिल्लामा २१३ वटा निजी विद्यालय छन् । जाडो बढेपछि जिल्लाका मुख्य बजार पनि चहलपहल घटेको छ । बाक्लो हुस्सुसँगै शीतलहर जिल्लामा जनजीवन प्रभावित भएको छ । आइतबार बिहानैदेखि हुस्सुसँगै शीत पर्न थालेको हो । शनिबारसम्म घाम लागे पनि आइतबार अचानक चिसो बढेको हो ।