तारकेश्वरको अत्याधुनिक प्रशासनिक भवन बन्दै

काठमाडौँ । तारकेश्वर नगरपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण हुने भएको छ । कुल १७ करोड एक लाख लागत साझेदारीमा बन्न लागेको प्रशासनिक भवनको बधवार नगर प्रमुख रामेश्वर बोहरा, जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजबैद्यले संयुक्तरुपमा शिलन्यास गर्नुभयो । आगामी ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने समयसीमा तोकिए पनि सो समय भन्दा अगाडि नै प्रशासकीय भवन निर्माण सम्पन्न गरिसक्ने योजनाका साथ प्रारम्भिक काम अगाडि बढेको छ ।
भवन निर्माणका लागि जिल्ला समन्वय समितिको ६० प्रतिशत र बाँकी नगरपालिकाको लागत साझेदारीमा प्रशासकिय भवन निर्माण हुन लागेको हो ।
भवनको शिलन्यास गर्दै जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजबैद्यले प्रशासनिक भवन निर्माण कार्य निर्धारित समयसिमा नै सम्पन्न गर्न निर्माण व्यवसायिमलाई आग्रह गर्नुभयो । प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह झन प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि आवश्यक समन्वय जिल्ला समन्वय समितिले गर्न तयार रहेको बताउनुभयो ।
नगरपालिकाका प्रमुख रामेश्वर बोहरालले प्रशासनिक भवन निर्माण कार्य तोकिएको समयसीमा भन्दा अगाडि नै सकिने गरी काम गरिने बताउनुभयो । उहाँले प्रशासनिक भवन निर्माणका लागि कुल लागतको ६० प्रतिशत रकम जिल्ला समन्वय समितिले उपलब्ध गराएकोमा जिससलाई धन्यवाद प्रदान गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्मसालले प्रशासकिय भवन निर्माण भएपछि एउटै भवनबाट नगरपालिकाको सबै सेवा प्रवाह गर्न सकिने हुँदा भवन निर्माण कार्यले सेवा प्रवाहलाई थप सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता दाहाल, नगरपालिकाका उपप्रमुख भवानी डोटेल ( धिताल) जिल्ला समन्वय समितिका सदस्य, नगरपालिकाका कर्मचारी, सर्वसाधरण लगायतको सहभागिता रहेको थियो । सो अवसरमा नगरपालिका प्रमुख बोहरा र जिससका प्रमुख बैद्यले, नगरपालिकका संंयुक्तरुपमा नगरपालिकाको गतिविधि समेटिएको चौमासिक बुलेटिनको बिमोचन गरिएको थियो ।