शिवपुरी गाउँपालिकामा एमबिबिएस सहितको डक्टर सेवा

शिवपुरी । नुवाकोटको शिवपुरी गाउँपालिकाले एमबिबिएस डक्टर सहितको सेवा प्रदान गर्ने भएको छ ।
शिवपुरी क्षेत्रमा निजी र सरकारी कुनै पनि निकायसँग एमबिबिएस सहितको डाक्टरको सेवा उपलब्ध नभएपछि पालिकाले आवश्यक सेवा सुविधासहित एमबिबिएस डक्टरको सुविधा प्रदान गर्न लागेको हो ।
एमबिबिएस डक्टरको सेवा सहित पालिकाभित्रै विभिन्न रोगको लागि ल्याब परिक्षण र एक्सरे सेवाको व्यवस्था गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
सामान्य प्रकृतिको रोग लाग्दा भने पालिकामै उपचारको व्यवस्था भए पनि सामान्य भन्दा केही ठूला प्रकृतिका रोग लाग्दा काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य गर्नका लागि र गाउँबासीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि एमबिबिएस डक्टर सतिको सेवा प्रदान गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिकाले दश बेडको पालिकास्तरीय आफ्नै अस्पताल निर्माण गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले शिवपुरी गाउँपालिकाले एमबिबिएस डक्टर सहितको सेवा प्रदान भएपछि स्थानीयले स्वास्थ्य सेवा सहज रुपमा प्राप्त गर्न सक्ने बताउनुभयो ।
उहाँले पालिकाले क्रमिक रुपमा अन्य स्वास्थ्य सेवाहरु पनि विस्तार गदै जाने नीति लिएको जानकारी दिनुभयो । शिवपुर गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा भने यसअघि नै स्वास्थ्य मापदण्ड निर्माण गरी कार्यान्वयन ल्याइसकेको छ । उक्त मापदण्ड कार्यान्वयनमा आएपछि कोरोना रोकथाम र नियन्त्रणमा आएको गाउँपालिकाले जनाएको छ ।