सङ्घीय मामिला र केयुबीच सम्झौता

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँ विश्व विद्यालयबीच संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको क्षमता विकासका लागि प्राज्ञिक अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालन गर्न सोमवार सम्झौता भएको छ ।
मन्त्रालयका तर्फबाट सचिव एकनारायण अर्याल र काठमाडौँ विश्वविद्यालयको तर्फबाट प्रा.डा रजिष्ट्रार सुबोध शर्माबीच सोमवार हस्ताक्षर गरिएको हो । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको क्षमता विकास गर्नका लागि मन्त्रालय र केयुबीच सम्झौता भएको हो ।
सार्वजनिक नीति र व्यस्थापनको क्षेत्रलाई आवश्यक पर्ने शीपयुक्त र गुणस्त्तरीय जनशक्तिको उत्पादन तथा विकास गरी राष्ट्रको आर्थिक र सामाजिक रूपान्तरण गर्ने, सार्वजनिक व्यवस्थापनको क्षेत्रमा भएका ज्ञान, शिप र प्रविधिको विकास, विस्तार र उपयोगका लागि दुबै पक्षबीच आपसी सहकार्य गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयले सञ्चालन गर्ने स्नातकोत्तर कार्यक्रममा योग्यता प्रणाली र प्रतिस्पर्धामा आधारित रही संघ, प्रदेश र स्थानीय तहमा कार्यरत जनशक्तिलाई सहभागि गराउन सहजिकरण, समन्वय गरिने प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रमका राष्ट्रिय कार्यक्रम व्यवस्थापक चिरञ्जिवि तिमल्सिनाले बताउनुभयो ।
विश्वविद्यालयबाट उत्पादन गरिएका जनशक्तिलाई आवश्यकता र मागका आधारमा संघ, प्रदेश र स्थानीय तहका कार्यालयमा इन्टनशीपका लागि सहभागि गराउन सहजिकरण गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको मन्त्रालयले जनाएको छ । सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालय र केयुबीच सम्झौताले तीनै तहका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस सम्झौता कार्यान्वयनमा ल्याउन दुबै पक्ष सक्रिय भएर लाग्ने बताउनुभयो ।