यस वर्षबाट सशस्त्र प्रहरीको झापामा १७ वटा बीओपी रहने

भद्रपुर । सीमा सुरक्षा तथा राजश्व चुहावट नियन्त्रमा खटिदै आएको सशस्त्र प्रहरीले यस वर्ष झापाका ९ वटा नाकामा बोर्डर आउट पोस्ट (बीओपी) थप्ने भएको छ ।

सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले सीमा सुरक्षाका लागि थप निगरानी बढाउन बीओपी थप्न लागिएको जनाएका हुन् । गणपति पाण्डेका अनुसार थपिएका बीओपी सहित झापामा यस वर्षबाट १७ वटा बीओपी हुने छन् । नयाँ बीओपीका लागि जग्गा प्राप्तीको प्रकृयामा जुटेको जनाउादै पाण्डेले उपयुक्त स्थानमा जग्गा पाउन मुस्किल परेको समेत जानकारी दिए ।

गणपति पाण्डेका अनुसार यस वर्ष पूर्वोत्तर झापाका तिरिङ, नकलबन्दा, सतीघट्टा, ज्यामिरगढी, दक्षिणतर्फ भद्रपुरको मेची पुलआसपास, महेशपुर, पाठामारी, पन्थापाडा र गौरदाहको आँपगाछीमा बीओपी थपिनेछ । काँकडभिट्टाको सशस्त्र प्रहरी राजस्व गुल्मलाई समेत बीओपीमा परिणत गरिएको छ ।

बीओपी थपिएपछि सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ । हेडक्वार्टर २ नम्बर गण झापाको मातहतमा १३ सय सशस्त्र प्रहरी नेपाल भारत सीमा क्षेत्रको झापा खण्डमा कार्यरत छन् । खुल्ला सिमाना रहेका कारण चोरी तस्करीका घटना बढीरहेको सीमा क्षेत्र व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने सशस्त्र प्रहरीको रचनात्मक कार्यको अपेक्षा गर्दै सीमा आसपासका बासिन्दा सहयोग गरिरहेका छन् ।