मछिन्द्रथानको जात्रा के हो यसको महत्व के त ?

० कृष्ण प्रजापति
रातो मछिन्द्रनाथको जात्रा हिजो आजको जात्रा होइन । आज भन्दा सोह्र सत्र सय वर्ष अगाडि बिक्रम संवत ४०७ सालदेखि निरन्तर रुपमा चल्दै आइरहेको ऐतिहासिक जात्रा हो । रातो मछिन्द्रनाथको जात्रासंग यहाँ अन्न उत्पादन गरी खाने सम्पूर्ण जनताको सम्वन्ध छ । यसको अर्थ भनेको आधुनिक कृषि उत्पादन गरी अन्न उत्पादन गर्नको लागि नभै नहुने पानी, वर्षा वा सिंचाईको प्रवन्ध मिलाएर सहकाल सुरु गर्नका लागि सो देवतालाई भारतको आसाम राज्यबाट नेपालमण्डलमा भित्रयाएको पाइन्छ । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापु तीन जना त्यहाँसम्म गएर देवता भित्रयाएको इतिहास छ । यो एक किवदन्ती मात्रै होइन कि विज्ञानले सिद्ध गरेको यथार्थ पनि हो । हालसम्म पनि कामारु कामाक्ष भन्ने देवता आसाममा विद्यमान छ । त्यस देवतालाई जादूगरहरुले पनि मान्ने गरिन्छ । अन्न उत्पादनसंग सम्वन्धित देवता भनेर पनि मान्ने गरिन्छ । त्यो बेला संयोगले मात्रै होइन कि एक हिसाबले बैज्ञानिक रुपमा प्रमाणित गरेर नै देवता यहाँ ल्याएका थिए । नेपालमण्डलमा बाह्र वर्षसम्म पानी नपरेपछि त्यसको कारण खोज्दै जाँदा देवता कोप भएको र कामारु कामाक्षमा राक्षशको कोखबाट जन्मेको सो मछिन्द्रनाथलाई उपत्यकामा भित्रयाउन सके सहकाल सुरु हुने ठहरियो । यसै अनुरुप त्यो बेला राज्यले सो देवता भित्रयाउन मद्धत गरेको पाइन्छ । त्यो देवतालाई राजा नरेन्द्रदेव आफै गएर लिएर आएको इतिहास पाइन्छ । त्यसपछि बल्ल उपत्यकामा सहकाल सुरु भएर अन्न उत्पादन हुन थाल्यो ।
जाबो एक वर्षको कोरोना भाइरसको कारण मानिस मर्न सुरु गरेको बखत राज्य कोषको दुरुपयोग गरी विभिन्न रुपमा राज्य सञ्चालनको लागि समेत बाहिरी सहयोग माग्नु पर्ने वर्तमान अवस्थाका नेताहरुले त्यो बेलाको उत्कृष्ट विज्ञानलाई पनि तुलना गर्न सक्नु पर्दछ । हालका नेताले त्यो बेला बाह्र वर्षसम्म पटक्कै पानी नपरी अनिकाल हुँदा यहाँका जनता के गरी खाएर बसे भन्ने कुराको पनि हेक्का हुनु जरुरी छ । अनिकालले जरो गाँडेको त्यो बेला तन्त्रमन्त्रको प्रभाव ब्यापक रहेको समयमा बन्धुदत्त आचार्य भन्ने काठमाडौंको शास्त्री वा बैज्ञानिकले यदि आसामको कामारु कामाक्षबाट राक्षशको कोखबाट जन्मेको सन्तान रातो मछिन्द्रनाथलाई यहाँ ल्याउन सकेको खण्डमा उपत्यकामा सहकाल सुरु हुने थाहा पाए । विश्वमा आज कोरोना भाइरसको औषधी पत्ता लगाउन नसकेर आच्छु आच्छु परेको बखत चीनले औषधी पत्ता लगाएर प्रयोगमा ल्याउने र जगतको उद्धार गर्ने धारणा अगाडि सारे जस्तै गरी त्यो बेला के कारण पानी नपरेको हो भनी मौसमको अध्ययन गरी कारण पत्ता लगाएर त्यसको उपाय सोच्नु पनि बैज्ञानिक प्रयोग नै थियो । कुरा जस्तो सुकै भएपनि लोक हितको लागि त्यो बेला पानी पर्न लगाउनको लागि रातो मछिन्द्रनाथलाई नेपालमण्डलमा भित्रयाएको पाइन्छ । यस्तो लोकको हीतको लागि आएका देवतालाई सबैले मान्नु स्वाभाविक थियो । त्यसैले काठमाडौं, ललितपुर र भक्तपुरबासीहरुले रथजात्रा पूरा गरी चार दिनको दिन भोटोजात्रा सकाएर देवतालाई बुंगमती पुर्याउने बखत नख्खू पार गराउने बेलामा आआफ्नो घरबाट मशाल बाली देवता पुर्याउन जाने चलन यद्यपि छँदैछ । किसान वर्गका लागि महत्वपूर्ण सहयोग गरी सहकाल निम्त्याउने देवतालाई आफ्नो पिता पुर्खा नै मानेर पूजा गर्नु प्रत्येक नागरिकको कर्तब्य पनि हो ।
आज भन्दा १६७० वर्ष अगाडिदेखि चल्दै आएको सनातन परम्परा हो मछिन्द्रनाथको जात्रा । यो महादेव, पार्वती, गणेश वा अन्य देवताहरु जस्तै कुनै अलौकिक कथाको आधारमा बनेका देवता पनि होइनन् । सृष्टिकान्तले सृष्टि गरेको देवता पनि होइन । बरु तयारी अवस्थामा रहेका साक्षात देवता चिनेर विशेषज्ञ, ज्ञाता वा एक बैज्ञानिकको रुपमा पुष्टि भएपछि एकजना परदेशी दूतको रुपमा ल्याइराखेको वा शेषनागको जिउमा राखेर राजाले नै यहाँ सम्म ल्याएका देवता हुन् । त्यसैले पनि अतिथि देव भवको रुपमा अरु अतिथिहरुलाई देवता नै मान्ने हामी नेपालमण्डलका नेवाः समुदाय लगायत सबै जात जातिहरुले मान्ने गरेको देवता हो रातो मछिन्द्रनाथ । अनिकाल नष्ट गरी देशलाई उद्धार गर्न सक्ने शक्तिशाली देवी हुन् । त्यसैले पनि यो अन्य जात्रा जस्तै होइन कि अलि लामो समयसम्म मनाइने जात्रा हो । अन्य देवी देवताको जात्रा, एक दिन, दुई दिन, चार दिन वा एक हप्तासम्म मात्रै मनाइने गरिन्छ । तर रातो मछिन्द्रनाथको जात्रा भने तीन चार महिनासम्म लगातार मनाइने गरिन्छ । यो भनेको हामी सबै अन्नसंग सम्वन्धित, खाना खाएर मात्रै जिउन सक्ने वा सहकालको सदा कामना गरिरहने भएर हो ।
यस्तो अलौकित शक्तिले भरिएको देवताको जात्रा यो वर्ष विश्वब्यापी रुपमा देखापरेको कोरोना भाइरसको कारण रोकिएको छ । भक्तपुरमा बिस्केट जात्राको लागि बनाइने भैरवको रथ बनाइएन । जात्रा सहजै रोकियो । कुमारी रथ नै नबनाइएका कारण काठमाडौंको कुमारी रथजात्रा पनि सहजै बन्द भयो । तर गुथि संस्थानले रातो मछिन्द्रनाथको रथ बनाउन लगायो । जात्रा भने गर्न दिएन । जसले गर्दा स्थानीय जनतामा अन्यौल छायो । विभक्त भयो । एक थरी नेवाःहरु जात्रा गर्नुपर्छ भन्ने पक्षमा रहे भने अर्कोथरी भने यस्तो अवस्थामा रोगब्याधीलाई ध्यानमा राखी जात्रा बन्द गर्नु पर्दछ भन्नेमा लागे । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको धारणा एकथरी, गुथि संस्थानको धारणा अर्कोतिर रह्यो । अझ ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको धारणा फरक रह्यो । त्यसैको परिणाम गत शुक्रबार र सनिबार सडकमा त्यसको परिणाम देखा पर्यो । सीडिओ कार्यालय भित्र जात्रा कसरी सञ्चालन गर्ने भनी बैठक भइरहेकै बखत स्थानीय जनताले उत्साहित भएर रथ तान्न थाले । त्यसैले पनि स्वीकृति नलिई रथ तानेको भन्दै स्थानीय जनता विरुद्ध प्रहरी प्रशासन खनिए । अश्रुग्यास हाने, लाठीचार्ज भयो, पानीको फोहरा प्रयोग गरी हुललाई तितर बितर गर्नु पर्ने अवस्था सिर्जना भयो । भक्तपुरमा बिस्केट जात्राको बखत देखा पर्ने दृश्य पुल्चोकमा यो महिनामा देखा पर्न गयो ।
वातावरण राम्रो बनाउनका लागि कामारु कामाक्षबाट मछिन्द्रनाथलाई आज भन्दा सत्र सय वर्ष अगाडि ल्याइराखेको थियो । हाल विश्वमा कोरोना भाइरसको महामारी छ । नेपालमा पनि यसको निकै धेरै प्रभाव जमिसकेको छ । यस्तो अवस्थामा हिजो जसरी संकटको बेलामा कसरी संकट निवारण गरियो भन्ने पाठ पनि सिक्नु पर्दछ । संकट परेको बखत राज्य मौन बस्नु ठीक छैन भनी भक्तपुरका प्रजा बात्सल्य राजा नरेन्द्रदेव स्वयम भारतको आसाम सम्म पुगेर तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापुको सहयोगमा रातो मछिन्द्रनाथलाई यहाँ ल्याइदिएका थिए । यो समयमा पनि विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारीले संकट निम्त्याएको छ । यो पनि एक हिसावले आज भन्दा सत्र सय वर्ष अगाडि नेपालमण्डल क्षेत्रमा पानी नपरी सुख्खा भएर अनिकाल सुरु भएर मानिसहरु खानै नपाएर मरेको बखत झैं हो । त्यसैले संयमित भएर धैर्य धारण गरी अब हामीले के गर्यौं भने नियमित रुमा आफ्नो जीवन सरल र सुब्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्दछ । पहिला गुरु दतात्रयले बैज्ञानिक अध्ययन गरी केही नयाँ चीज पत्ता लगाएर अन्न उत्पादन बढाएर खाने लाउने प्रवन्ध मिलाएको हामी थाहा पाउँछौं । आज कोरोना भाइरसका कारण लाखौंलाख मानिसहरु मरिरहेको बखत त्यसबाट बच्नका लागि उपाय के हो भन्ने कुरा पत्ता लगाउनको लागि पनि बैज्ञानिक प्रयोग सही धारणा र छलफल सुरु गरेका देवतालाई उदाहरण दिनु पर्दछ । विज्ञानसम्मत रुपमा अगाडि बढेर रोगको निवारण गर्नको लागि पनि सहकालको देवी मछिन्द्रनाथको रथ यात्रा पूरा गरेर अब के गर्ने भन्ने कुरालाई दृष्टिगत गर्नु जरुरी छ ।