वागमती गाउँपालिका ग-यो प्रमुख प्रशासकीय अधिकृत राईलाई भव्य स्वागत

ललितपुर । वागमती गाउँपालिकामा नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईलाई भव्यरूपमा स्वागत गरेको छ ।
गाउँपालिकाले आइतवार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन, उपाध्यक्ष रञ्जना घिमिरे, वडाध्यक्ष लगायतका जनप्रतिनिधि र कर्मचारीले फूल, माला र खादा लगाएर स्वागत गरेको हो । राईलाई अध्यक्ष लोप्चनले कलम र डायरी प्रदान गर्दै ढाकाका टोपी लगाई स्वागत गर्नुभयो ।
यसअघि उदयपुरको रौतामाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत राई वागमति गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरूवा हुनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत राईलाई स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष लोप्चनले सेवाग्राहीको भावनालाई आत्मसाथ गर्दै राईले जनप्रतिनिधि, सेवाग्राही र कर्मचारीलाई संयोजन गरी काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्र विकास निर्माण र सुशासन कायम हुने भन्दै गाउँपालिकाले आवश्यकताका आधारमा कर्मचारीलाई आवसीय सहितको आवश्यक सेवा सुविधा प्रदान गर्दै आएको स्पष्ट गर्नुभयो ।
सो अवसरमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत राईले गाउँपालिकाले पारित गरेको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने र जनप्रतिनिधिको लक्ष्यलाई कार्यान्वयन गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रञ्जजना घिमिरेले सबैको भावनालाई समेट्न गरी प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने बताउनुभयो ।

यसअघि पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतरुपमा काम गरिसक्नु भएका राईसँग स्थानीय सरकारको बारेमा राम्रो अनुभव छ । यसअघि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा युवाराज आचार्यले २२ महिनासम्म कुशल रुपमा सेवा प्रवाह गर्नुभएको थियो ।