सूर्यविनायक नगरपालिका ७ तामाङ वस्तीमा होमस्टे निर्माण हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित साविक वडा नं. १, २ र ३ को माथिल्लो तामाङ वस्तीमा होमस्टे निर्माण हुने भएको छ । राष्ट्रिय प्राणी उद्यानको सहकार्यमा होमस्टे निर्माण हुन लागेको हो ।
पर्यटकीय क्षेत्रको विकास र स्थानीय नागरिकलाई स्वरोजागार बनाउने उद्देश्यले होमस्टे निर्माण हुन लागेको हो ।
शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित ढुङ्गेचौर बहुआयामीक सामुदायिक भवनमा सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजना र राष्ट्रिय प्राणी उद्यानको समन्वयमा स्थानीय सरोकारवालासँग छलफल गरी होमस्टे सञ्चालक समिति गठन गरिएको छ ।
। उक्त छलफल कार्यक्रमबाट सरस्वती बस्याल (न्यौपाने) को अध्यक्षतामा ७ सदस्यीय होमस्टे सञ्चालक समिति गठन गरिएको सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष जीवन तामाङ, सचिव निरू थापा (महत), कोषाध्यक्ष सविन तामाङ, सदस्य सीता तामाङ, भरत तामाङ र किरण तामाङको रहनु भएको छ ।
होमस्टे सञ्चालन कार्य समिति गठन पश्चात कार्यसमितिले समिति दर्ता गर्ने, क्षमताविकास सम्बन्धी तामिल सञ्चालन गर्ने र प्राणी उद्यान र नगरपालिकासँग आवश्यक समन्वय गर्दै होमस्टे निर्माणको प्रक्रिया अगाडि बढाउन वडाध्यक्ष सापकोटाले आग्रह गर्नुभयो ।
समिति अन्तर्गत उक्त क्षेत्रका २२ घर परिवार समेटिएका छ । उक्त समिति अन्तर्गत २२ जना सदस्यीय साधारण सदस्य रहेका छन् । उक्त छलफल कार्यक्रममा राष्ट्रिय प्राणी उद्यानका निर्देशक लालबहादुर भण्डारी, संरक्षण अधिकृत मिथिलेश महतो, सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा प्रशासकीय अधिकृत सूर्यबहादुर माकजु स्थानीय समाजसेवी, नागरिक समाजका अगुवा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।