कृषिको तागत : गरे हुने रहेछ

बालकृष्ण देउजा
डेनमार्क भ्रमणमा रहेका नेपालका एक नेतालाई डेनिस नागरिकले आफ्नो घरमा खाना खाने गरी बोलाए । साथीको निम्ता स्वीकार्दै उनको घरमा नेपाली नेता पुगे । केही समयको वातचितपछि खाना खाने समय भयो । पाहुना लाग्न गएका नेतालाई डेनिस नागरिकले एउटा प्लेटमा भात र कचौरामा बन्दाको पातमा झोल राखेर बनाइएको तरकारी दिए । त्यसपछि उनले मुस्कुराउँदै भने– तपाईँलाई अनौठो लाग्यो होला बन्दाको यो पातको तरकारी देखेर ! हाम्रो त यति तरकारीका लागि पनि झण्डै एक डलर जति खर्च गर्नुपर्छ । तपाईँको देशमा त आफू सुतेको पलङ नजिकको झ्यालबाट तरकारीको बीउ फ्याँकिदियो भने पनि केही दिनमै उम्रिहाल्छ । यहाँ त यो बन्दा तयार हुन पनि छ महिना लाग्छ । हिउँभित्र ग्रिन हाउसमा उत्पादन गर्नुपर्छ । यस अर्थमा नेपालको हावापानी र माटो, कृषिका लागि वरदान नै हो । जहाँ जे रोपे पनि सजिलै फल्छ तर पनि तपाईँहरू विदेशबाट तरकारी, फलफूललगायत सबैखाले कृषि उपज किनेर खानुहुन्छ ।
त्यसपछि नेपाली पाहुना केही बोल्नुभएन । पाहुनाको मौनतापछि पुनः डेनिस नागरिकले भने– मेरो भनाइले तपाईँलाई अलि ननिको लाग्यो होला । ठीकै छ, मैले तपाईँको मनमा अलि–अलि चोट परोस् भनेर नै यो कुरा गरेको हुँ किनकि म नेपाललाई माया गर्छु र सधैँ उन्नति चाहन्छु । नेपालको विकास र समृद्धि तपाईँहरूबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ ।
यो सम्वाद नेपाल कम्युनिस्ट पार्टी तत्कालीन (माले) का नेता अमृतकुमार बोहोरा र एक डेनिस नागरिकबीचको हो । जुन कुरा मैले करिब २५ वर्षपहिले अमृत बोहोराबाट सुनेको थिएँ । त्यसबेला चौतारामा आयोजित पार्टी कार्यक्रम सकेर बाह्रबिसे जाने क्रममा इर्खु हुँदै बलेफीसम्म हामी हिँडेर गएका थियौँ । दुई घण्टा जति हिँडेपछि बलेफी पुगियो । अमृत बोहोरा कृषिमा पहिलादेखि निकै चासो राख्नुहुन्थ्यो । उहाँ स्थानीय विकास मन्त्री हुँदा म उहाँको घरमा धेरै आउ–जाउ गर्थेँ । उहाँको सानो करेसाबारी थियो, त्यहाँ आफूलाई पुग्ने तरकारी आफँै रोप्नुहुन्थ्यो । म जहिले जाँदा पनि बिहानको समयमा तरकारी गोडमेल गर्ने, पानी लगाउने गरेको देख्थेँ । उहाँको रुचिको विषय कृषि हो भन्ने बुझेकाले मैले त्यस दिन पनि कृषिको विषयमा नै बढी जिज्ञासा राखेँ । उहाँले यस्ता धेरै अनुभूति उल्लेख गर्नुभयो । तिनैमध्येको एक अनुभूति थियो यो ।
अमृत बोहोराका अनुसार ती डेनिस नागरिक नेपालमा लामो समय बसेका थिए । उनले नेपाल बसाइँमा यहाँका राजनीतिक दलहरू र तिनका नेताहरूलाई नजिकबाट चिन्ने जान्ने अवसर पाए । नेपाल बसाइँका क्रममा अमृत बोहोरासँग उनको चिनजान भएको थियो । डेनिस नागरिक स्वदेश फर्किएको केही समयपछि बोहोरालाई डेनमार्क जाने अवसर मिल्यो । त्यसबेला उहाँ डेनिस साथीको घरमा पुग्नुभएको हो ।
अहिले मलाई त्यतिबेला अमृत बोहोराले सुनाएका कुरा याद आइरहेको छ । हामी गत चैत ११ गतेदेखि अहिलेसम्म पनि बन्दाबन्दीमा छौँ । दुई महिनाभन्दा बढीको यो बसाइँलाई विभिन्न मानिसले आआफ्नो अनुकूलतामा समयको सदुपयोग गरे । लकडाउनको उपयोग गर्ने सन्दर्भमा मैले कृषि कर्ममा समय खर्चेँ । यो समयको सदुपयोग गर्ने क्रममा नेपालको हावा पानी र माटो वास्तवमा नै कृषिका लागि वरदान रहेछ भन्ने थाहा भयो । चैत दोस्रो साताबाट तरकारीका बीउ रोप्न सुरु गरेको थिएँ । त्यतिबेला एउटा सानो करेसाबारीमा आफ्नो परिवारका लागि लगाइएका तरकारीका बिरुवा अहिले लहलह भएर आएका छन् र सबै बिरुवामा फल लाग्न थालेको छ ।
यो सानो करेसाबारीमा काँक्रो, फर्सी, लौका, मूला, बोडी, घिउसिमी, तीते करेला, घिरौँला, अकबरे खोर्सानी, भेडे खोर्सानी, भेण्टा, चिप्ले भेण्टा, गोलभेँडालगायत बदाम र स्ट्रबेरी पनि फल्न थालेको छ । करेसाबारीमा यति धेरै तरकारी तथा फलफूल उत्पादन सम्भव छ तर ती डेनिस नागरिकले भनेझैँ अहिले पनि इन्डियाबाट ठूलो मात्रामा तरकारी, फलफूल र खाद्यान्नलगायतका वस्तु नेपाल भित्रन्छन् । दुई महिनाको यो लकडाउनको अवधिमा मात्र भारतबाट झण्डै एक करोड मेट्रिक टन तरकारी आयात भएको छ ।
नेपालको कुल जनसङ्ख्याको दुईतिहाइ मानिस कृषिमा आश्रित छन् र कुल गार्हस्थ्य उत्पादनमा कृषिको ठूलो योगदान छ । उच्च हिमाली भाग, मध्य पहाड र तल्लो तटीय क्षेत्र नेपालमा रहेकाले यहाँ सबै किसिमका हावापानी पाइन्छ । हावापानीअनुसार नै विभिन्न जातका खाद्यान्न फलफूल, तरकारी र जडीबुटी उत्पादन गर्न सकिन्छ ।
प्रकृतिले मानव जातिलाई वरदानका रूपमा ऊर्वर हावापानी र माटो दिएको छ । तर पनि हामीहरू अधिक उत्पादन गर्ने नाममा कृषि क्षेत्रलाई नै प्रदूषित बनाउँदै गइरहेका छौँ । प्रकृतिको अत्यधिक दोहनका कारण अल्प समयका लागि बढी उत्पादन प्राप्त भए तापनि स्थायीरूपमा कृषि क्षेत्रमा रहेको ऊर्वरतालाई जानी÷नजानी घटाउँदै गइरहेका छौँ । संसारका अधिकांश मुलुकमा ठूला–ठूला कम्पनीले कृषि क्षेत्रको अतिक्रमण गरी बढी उत्पादन लिन मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने रसायनिक मल तथा विषादीहरूको प्रयोग गर्ने गरेका छन् । रासायनिक वस्तुको प्रयोग र प्रविधिको दुरूपयोग गरेर उनीहरूले अत्यधिक उत्पादन गर्ने गरेका कारण आज अधिकांश मानिस दम, प्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, ब्रेन ह्यामरेज र प्यारालाइसिस जस्ता घातक रोगहरूको मार बेहोर्न बाध्य छन् ।
नेपालमा भने अहिलेसम्म पनि पारिवारिक कृषि प्रणाली प्रचलनमा छ । पारिवारिक खेती सानो आकारमा परिवारका सदस्यहरू मिलेर गर्ने कृषि पेसा हो । यस प्रकारको कृषिमा रासायनिक विषादिहरूको प्रयोग प्रायः गरिँदैन । यसर्थ परम्परागत यो पद्धतिको विकास र संरक्षणमा पनि ध्यान दिनु जरुरी देखिन्छ ।
प्राकृतिकरूपमा नै कृषि उत्पादन गर्न रैथाने जातको गाई पालन उपयोगी हुन्छ । हामी नेपाली धार्मिक हिसाबले पनि हरेक घरमा गाई पालन गर्छौँ । गाईको गोबर, गहुँत, दही, दूध र घ्युलाई पवित्र मानिन्छ । यी वस्तुको प्रयोग मानव स्वास्थ्यका लागिमात्र नभएर बोटबिरुवाका लागि पनि उपयोगी हुन्छन् । करेसाबारीमा स्वस्थ तरकारी उत्पादन गर्न र दही दूधका लागि लकडाउनको अवधिमा मैले पनि रैथाने जातको एउटा गाई पाल्ने निधो गरेँ । मेरो करेसाबारीमा म अहिले यही गाईको गहुँत प्रयोग गर्छु । मैले गहुँत प्रयोग गरेको देखेर छिमेकीहरूले पनि प्रयोग गर्न थालेका छन् । गहुँत र जैविक वस्तुहरू मिलाएर बनाएको झोल मलले तरकारी, फलफूललागायत विभिन्न बालिनालीमा लाग्ने सबै हानिकारक कीरा भगाइदिन्छ । गाईको गहुँतलगायत जैविक विषादीहरू करेसाबारीमा प्रयोग गर्न थालेदेखि रासायनिक मल र विषादी प्रयोग गर्नुपरेको छैन ।
प्राकृतिक पद्धतिबाट उत्पादित कृषि उपज स्वादिष्ट र स्वास्थ्यका लागि समेत उपयोगी हुने कुरा हामी सबैलाई विदितै छ । प्राकृतिकरूपमा नै कृषिको उत्पादन सम्भव भए पनि रासायनिक मल र विषादीको प्रयोगबिना कृषि उत्पादन सम्भव हुन्छ भन्ने कुरामा आमकिसान अहिले पनि विश्वास गर्दैनन् । जसका कारण रासायानिक मलको माग अत्यधिक हुने गरेको पाइन्छ । यसरी एकातिर रासायानिक मल र विषादीको प्रयोग भइरहेको छ भने अर्कातिर बढी उत्पादन गर्ने नाममा रैथाने जातका बीउ पल्बीउहरू, हाइब्रिडबाट विस्थापित हुँदैछन् ।
स्थानीय जातलाई परिस्कृत गर्नुको बदला बहुराष्ट्रिय निगमहरूबाट उत्पादित महँगो हाइब्रिडको प्रयोग तीव्र गतिमा बढिरहेको छ । हाइब्रिड एकपटकका लागि मात्र उपयोगी हुने हुनाले प्रत्येकपटक नयाँ जातका बीउ आयात गर्नुपर्ने बाध्यता हुन्छ । स्थानीय जातका बीउ पल्बीउहरूमा रोगसँग लड्न सक्ने क्षमता बढी हुने हुनाले रैथाने जातको बीउ प्रयोग भएका ठाउँहरूमा रासायानिक विषादीको प्रयोग खासै गर्नुपर्दैन । विदेशबाट आयातित हाइब्रिडले एकपटकका लागि बढी उत्पादन दिने भए तापनि यसबाट पुनः उत्पादन गर्न नसक्ने र रोगव्याधिसमेत बढी लाग्ने हुनाले रासायनिक विषादीको प्रयोग गर्नैपर्ने बाध्यता छ ।
रासायनिक विषको प्रयोगले एकातिर मानव स्वास्थ्यमा असर परिरहेको छ भने अर्कातिर हानिकारक कीटपतंगहरूमा विषादीलाई पचाउँदै जाने क्षमता पनि बढ्दै गएको छ । रैथाने जातका बीउ पल्बीउहरू मासिँदै जाने र हाइब्रिडको प्रयोग बढ्दै जाने हुँदा आयातित हाइब्रिड उत्पादक मुलुकहरूले कुनै बेला अनावश्यक सर्तहरू थोपरेर राष्ट्रियतालाई नै कमजोर बनाउने अवस्था नआउला भन्न पनि सकिंँंदैन । यसका लागि हामीले आफ्नो रैथाने जातको बीउ संरक्षणमा पनि ध्यान दिनु जरुरी छ ।
(राष्ट्रिय समिति सदस्य, अखिल नेपाल किसान महासङ्घ)