वाग्मती गाउँपालिकाले प्रत्येक वडामा दश बेडको क्वारेन्टाइन निर्माण गर्ने

ललितपुर । वाग्मती गाउँपालिकाले प्रत्येक वडामा न्यूनत्तम १० शैय्याको क्वारेन्टाइन निर्माण गर्ने भएको छ । कोरोना भाइरस ( कोभिड १९ ) को सङ्क्रमण फैलन नदिन गाउँपालिकाले क्वारेन्टाइन निर्माण कार्यलाई तिब्रता दिन लागेको हो । प्रत्येक वडाले कम्तिममा १० वेडको क्वारेन्टाइन निर्माण गर्ने आइतवार बसेको गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि गाउँपालिकाले विदेशबाट फर्केका र कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी लगायतको स्वास्थ्थ्य परीक्षण गराइसकेको छ ।
त्यस्तै पालिकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिने कार्यमा माक्स, स्यानिटाइजर, कोरोना भाइरस सम्बन्धि सचेतनामूलक ब्रोसर निर्माण गरी वितरण गर्ने, माइकिङ्ग गर्ने काम गर्दै आएको छ । दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई राहत वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ ।
बैठकले गाउँपालिकाको आगामी २०७७÷०८८ का नीति, कार्यक्रम र बजेट निर्माण लागि सबै वडालाई जेठ ३१ गतेभित्र योजना छनोट गरी पालिकामा पेश गर्न आग्रह समेत गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले गाउँपालिकाले कानुनले तोकिएकै समयसीमा भित्रै आगामी वर्षको नीति, कार्यक्रम र बजेट गाउँसभामा पेश गर्ने गरी पालिकाले काम गरिरहेको बताउनुभयो ।