भक्तपुरको जगाती नाकामा डिस्इन्फेक्सन टनेल

भक्तपुर : काठमाडौं उपत्यका प्रवेश गर्ने पूर्वी नाकाको रुपमा रहेको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगातीमा पनि सवारीसाधन निसंक्रमण (डिस्इन्फेक्सन) टनेल सञ्चालनमा ल्याइएको छ ।अरनिको राजमार्ग भएर राजधानी छिर्ने चारपांग्रे सवारीसाधनलाई कोरोना भाइरसलगायत अन्य विषाणु तथा जीवाणुको संक्रमण उपत्यका भित्रिन नदिन उक्त टनेल सञ्चालनमा ल्याइएको हो ।

यसअघि नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका स्वयंसेवकहरुले भक्तपुर र काभ्रेको सीमामा पर्ने साँगामा साधारण स्प्रेले सवारीसाधन निसंक्रमण गर्दै आएका थिए । साधारण स्प्रे निष्प्रभावी भएको तथा धेरै समय लाग्ने गरेको भन्ने आवाज उठेपछि जगाती प्रहरी चेकपोस्टसँगै उक्त निसंक्रमण टनेल सञ्चालनमा ल्याइएको हो ।

उक्त टनेलमा चारपांग्रे सवारीसाधनलाई निसंक्रमण गर्ने गरिएको छ । उक्त टनेलमा निसंक्रमण गर्नुअघि सवारीसाधनका सबै झ्याल तथा ढोकाका सीसा बन्द गराइन्छ । जसले सवारीसाधनभित्रका सर्वसाधारणलाई निसंक्रमण गर्न प्रयोग गरिने रसायनले कुनै साइड इफेक्ट गर्नेछैन ।
टनेलमा सवारीसाधनलाई अगाडि–पछाडि र दायाँ–बायाँ गरी चारै दिशाबाट एकैपटक निसंक्रमण गर्ने गरी चारवटा स्प्रेको व्यवस्था गरिएको छ । सवारीसाधनलाई उक्त टनेलभित्र १० किलोमिटर प्रतिघन्टाको रफ्तारमा अगाडि बढाउनसमेत भनिएको छ । जसले गर्दा सबै ठाउँमा एकैनासले निसंक्रमण होस् ।

आइतबार एक कार्यक्रमबीच भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले उक्त डिस्इन्फेक्सन टनेलको सञ्चालन सुरुवात गरेका थिए । उक्त अवसरमा पहिलोपटक डिस्इन्फेक्सन भएका दुई गाडीका चालकलाई पुष्पगुच्छा दिएर भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्वागत गरेकी थिइन् ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर र सुन्दर यातायात प्रालिले व्यवस्थापन गरेको उक्त निसंक्रमण टनेल चौबीसै घन्टा सञ्चालनमा ल्याइने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

उनका अनुसार सवारीसाधन निसंक्रमण गरिए पनि उक्त सवारीसाधनले सजिलै काठमाडौं उपत्यकाभित्र प्रवेश पाउँदैन । सवारीसाधन निसंक्रमणपछि सवारीसाधनमा सवार सबैको शरीरको तापक्रम जाँच्ने तथा उनीहरुको व्यक्तिगत विवरण टिपाएरमात्रै उपत्यका प्रवेश गर्न पाइने प्रहरी उपरीक्षक प्रधानले बताए । ‘जसरी गाडी निसंक्रमण हुन्छ, त्यसरी नै गाडीभित्र सवार सबैको शरीरको तापक्रम जाँच हुन्छ’, उनले भने, ‘त्यस्तै गाडीभित्र सवार सबैले उहाँहरुको व्यक्तिगत विवरण दिनुपर्छ । उहाँहरु कहाँ जान लाग्नुभएको हो ? कसलाई भेट्न जान लागेको हो ? किन आउनुभएको जस्ता सबै विवरण खुलाउनुपर्छ ।’
उपत्यका आउनुको मुख्य र चित्तबुझ्दो जवाफ नपाइए उनीहरुलाई जहाँबाट आएको त्यहीं फर्काइने उनको भनाइ थियो ।

जगातीसम्म आइसकेपछि उपत्यका आएकालाई फर्काउन समस्या भएपछि भक्तपुर प्रहरीले भक्तपुर र काभ्रेको सीमा नाका साँगामै अहिले सवारीसाधनको जाँच तथा सर्वसाधारणलाई सोधपुछ गर्ने व्यवस्था गरेको छ ।

साँगामा अहिले भक्तपुर प्रहरी र काभ्रे प्रहरीले संयुक्त सुरक्षा जाँच गरिरहेका छन् । जहाँबाट पास नभएका तथा अनवाश्यक रुपमा गुडेका दुईपांग्रे तथा चारपांग्रे सवारीसाधनलाई जहाँबाट आएको हो, त्यतै फर्काउने कार्य भइरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय आकस्मिक सेवाको लागि प्रयोग हुनुपर्ने एम्बुलेन्ससमेत दुरुपयोग हुन थालेको छ । बिरामी नभएका सर्वसाधारणसमेत भनेको रकम दिएर एम्बुलेन्समा बसेर उपत्यका प्रवेश गर्ने गरेको उनको भनाइ थियो ।

सर्वसाधारणले उपत्यका प्रवेश गर्न एम्बुलेन्स प्रयोग गर्ने गरेको उजुरी आएपछि छानबिन गर्ने क्रममा एउटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरी उपरीक्षक प्रधानले स्पष्ट पारे । अस्पतालमा बिरामी पुर्‍याएर फर्किने बेला अधिकांश एम्बुलेन्सले केही पैसाको लोभमा सर्वसाधारण बोकेर आउने गरेको प्रहरीले जनाएको छ ।