छोराछोरीको घरभाडा तिरिदिँदै एसओएस वालग्राम जोखिममा परेका ४८५ परिवारलाई खाद्यान्न पनि सहयोग

काठमाडौं । त्यसो त घर छोडेर भिन्नै बसेका छोराछोरीलाई त जन्मदिने बाबुआमाले खासै चासो नदिने वर्तमान समाजमा एसओएस वालग्राम नेपालले भने समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोराछोरी प्रति आफ्नो कर्तव्य पालना गरिरहेको छ ।
शिशु अवस्थादेखि हुर्काई बढाई गरि पढाएर रोजगारी भएपछि समाजमा भर्खरै पुर्नस्थापित भएका आफ्ना छोरा छोरीले दुःख पाएको ‘वालवालिकाको लागि मायालु घर’को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्रामले कसरी टुलुटुलु हेर्न सक्छ र?
विश्वव्यापी महामारी ‘कोभिड—१९’का कारण बन्दाबन्दी(लकडाउन)भएपछि देशभरका उद्योग, कलकारखाना, विमानस्थल, होटल लगायतमा आर्थिक समस्या ग्रस्त भएका कारण त्यहाँबाट रोजगारी गुमाउन पुगेका आफ्ना छोराछोरी प्रति एसओएस वालग्राम नेपाल संवेदनशिल देखिएको हो ।
लकडाउनका कारण रोजगारी गुमाएर समस्यामा परेका आफ्ना छोराछोरीको घर भाडा तिर्न देखि उनीहरुको तत्कालका घरायसी समस्या समाधान गर्न एसओएस वालग्राम नेपालले समाजमा पुर्नस्थापित १ सय ५ जना आफ्ना छोराछोरीकालागि नगद सहयोग गरि उदाहरणीय र अनुकरणीय काम गरेको छ ।
वालग्रामको आपत्कालीन कोषबाट तत्कालकालागि प्रति छोरा÷छोरी १० हजारको दरमा कूल १० लाख ५० हजार आर्थिक सहयोग गरिएको एसओएस वालग्राम नेपालका राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्माले बताए ।
‘रोजगारी गुमाएर आर्थिक समस्यामा परेका हाम्रा त्यस्ता छोराछोरीलाई रोजगारीको अर्काे व्यवस्था मिलाउन र रोजगारी नहुन्जेल सम्मकालागि थोरै नै भएपनि नियमितरुपमा सहयोग गर्न हामी प्रयासरत छौं’—राष्ट्रिय निर्देशक शर्माले भने—‘यसका लागि एसओएस वालग्राम अन्तर्राष्ट्रिय देखि एसओएस वालग्राम नेपाललाई नियमित सहयोग गर्दै आएका नेपाली दाताहरु संग अनुरोध गरिरहेका छौं ।’वालग्रामलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने एकहजार ८० जना स्थानीय दाता छन् ।
नेपालभरी रहेका एसओएस वालग्राममा हुर्केका छोराछोरी पढाई सकेर रोजगार भईसकेपछि ‘समाजमा पुर्नस्थापित’हुने वालग्रामको नियम रहेको छ । यो भनेको वाहिरी समाजमा आफुलाई जन्मदिने बाबुआमाबाट छोरछोरी भिन्नै बसे सरह हो ।
नेपालमा एसओएस वालग्रामको स्थापनाको ५० वर्षको अवधिमा वालग्राममा हुर्की, पढी रोजगारी भएपछि हाल सम्म करीव २ हजार पाँचसय जनाछोराछोरीहरु समाजमा पुर्नस्थापित भईसकेका छन । करीव ८ सय जना छोराछोरी वालग्रामको युवालय (छात्रावास) मा बसेर उच्चशिक्षा अध्ययनरत छन् । करीव १ हजार २०० छोराछोरी मुलुकका १० वटा वालग्रामको पारिवारिक घरमा बसिरहेका छन् । समाजमा पुर्नस्थापित भईसकेका २ हजार पाँचसय छोराछोरी मध्ये अधिकाँशको आर्थिक अवस्था भने राम्रो छ ।
यसको साथै वालग्रामले नेपालभरी रहेका १० वटा एसओएस वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रम (एफ.एस.पि)का लाभग्राही विपन्न र अति जोखिममा रहेका ४ सय ८५ परिवारका लागि एक महिनाको लागि पुग्ने खाद्यान्न पनि सहयोग गरेको राष्ट्रिय निर्देशक शर्माले बताए ।
परिवारमा साना केटाकेटी भएका, विरामी र अपाङ्गता भएका र लकडाउनका कारण दैनिक रोजीरोटी र सानोतिनो व्यापार समेत गुमाउन पुगेका त्यस्ता ४ सय ८५ विपन्न परिवारको लागि चामल,पिठो, तेल, दाल, नुन लगायतका खाद्यान्न वितरण गरेको हो ।
नेपालमा रहेका १० वटा एसओएस वालग्राम सानोठिमी, काभ्रे, जोरपाटी, इटहरि, पोखरा र कास्की, चितवन, रुपन्देही, सुर्खेत र धनगढीले ती वालग्रामबाट परिवार सुदृढीकरण कार्यक्रम मार्फत लाभ लिइरहेका त्यस्ता विपन्न परिवारलाई वालग्राममै बोलाएर या उनीहरुकै घरघरमा गएर खाद्यान्न वितरण गरिरहेको छ ।
परिवार सुदृढीकरण कार्यक्रम मार्फत त्यस्ता परिवारले वालग्राम मार्फत स्वास्थ्य, शिक्षा, विभिन्न रोजगार मूलक तालीम र सानोतिनो आर्थिक सहयोग समेत पाउँदै आएका छन् ।